
नागरिकता विधेयकमाथि दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाको हिजोको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको विधेयकलाई छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
समितिका सदस्य प्रकाश पन्थले आज मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा विधेयकमा भएका बुँदा र राष्ट्रपतिको १५ बुँदे सुझाव लगायतका विषयमा छलफल हुने बताउनुभयो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको पनि उहाँले बताउनुभयो ।
सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि हटेपछि यो विधेयक विधायन व्यवस्थापन समितिमा पुगेको हो । विषयगत समितिले अब विधेयक पारित गरेर समितिको प्रतिवेदनसहित पुनः सभामा पेश गर्ने छ ।
समितिको प्रतिवेदन प्रस्तुत भएपछि त्यसको प्रतिवेदन सदस्यलाई वितरण गरिनेछ । विधायन समितिमा भने सत्तारुढ गठबन्धनको बहुमत रहेको छ ।
त्यसकारण समितिमा पनि यसबारेमा संशोधन हुने सम्भावना कम छ ।