युएन महासचिवको सन्देश: नेपालको शान्ति प्रक्रिया टुङ्ग्याऊ, जलवायु परिवर्तनको असरबारे विश्वलाई म भन्छु

खबर बुक
  • ख-
  • ख+

संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव एन्टोनियो गुटेरेसको चार दिने नेपाल भ्रमणमा मूलतः तीन विषय प्रमुखताका उठे ।

उनले नेपाल आएर उनले उठाएका दुई प्रमुख मुद्दामध्ये एउटा विश्वव्यापी जलवायु परिवर्तनको मुद्दा हो भने अर्को नेपालको सङ्क्रमणकालीन न्याय । त्यस्तै उनले विश्व शान्तिको आह्वान पनि गरे ।
नेपालको शान्ति प्रक्रियाबारे उनको निकै चासो रह्यो । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउने विषयमा उनले सुरुदेखि अन्तिमसम्म जोड दिए । गुटेरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गरे । मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको अन्तिम चरणमा नेपाल रहेको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।

सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेका उनको भनाइ छ । ‘शान्ति र प्रगतिको यात्रामा तपाईँहरू एक्लै हुनुहुन्न । नेपाली नेतृत्वसँग राष्ट्रसङ्घ सँगै छ,’ उनले भने, ‘सङ्क्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न, अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउन र तपाईँहरूको यहाँको कानुनी व्यवस्थालाई ध्यान दिने मेरो विश्वास छ ।’

 

महासचिव गुटेरेसले दुई शक्ति राष्ट्रका बिचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताए । ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्रसङ्घ गौरव व्यक्त गर्दछ । यस क्षणमा म नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु,’ उनले भने । नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्‍याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै महासचिव गुटेरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन आग्रह गरे । ‘तपाईँहरू शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ,’ उनले भने, ‘सङ्क्रमणकालीन न्यायका प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णविराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, यो सजिलो भने छैन ।’ समावेशी र पीडित केन्द्रित भएर मात्रै सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिने उनको भनाइ थियो ।

नेपालमा सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा लामो समयदेखि सुल्झिएको छैन । त्यसलाई गति दिने सन्दर्भमा समेत सकारात्मक कुरा गरेका छन् । सरकार र विपक्षी दलसँग यसै विषयमा भेटघाट भएको छ । तर यस मामिलामा दुई थरी धार छन् । एक थरीले सबै पीडितलाई न्याय दिँदै पीडक सबैलाई जेल कोच्नुपर्छ भन्छन् । अर्का थरी, त्यतिखेरको द्वन्द्व कालका भएका घटना विशेष प्रकारको राजनीतिक घटना भएकाले अन्य अपराधझैँ त्यसलाई नमानेर मानवअधिकारको जघन्य उल्लङ्घनका केही घटनाबाहेक अन्यमा आममाफी दिनुपर्छ भन्ने पनि छन् । यी दुई पक्षको अडानबिच सङ्क्रमणकालीन न्यायको विषय च्यापिएको छ । सोही कारण पनि १७ वर्षदेखि यो विषय टुङ्गोमा पुग्न सकेको छैन ।

 

शान्तिको मार्गमा लाग्न आह्वान

 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गरे । मङ्गलवार बुद्ध जन्मस्थल लुम्बिनी पुगेर उनले संसारभर भइरहेका युद्ध अन्त्यका लागि आह्वान गरेका हुन् । इजरायल, प्यालेस्टाइन, युक्रेन, रसिया, सुडानलगायत मुलुकले गरिरहेको युद्धलाई सम्बोधन गर्दै उहाँले उद्देश्यविहीन युद्धले विश्व नै पीडित र आक्रान्त भइरहेको उनले बताए ।

उनले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गरे । संसारभर भइरहेका युद्ध अन्त्यका लागि उनले आह्वान गरे । इजरायल, प्यालेस्टाइन, युक्रेन, रसिया, सुडानलगायत मुलुकले गरिरहेको युद्धलाई सम्बोधन गर्दै उनले उद्देश्यविहीन युद्धले विश्व नै पीडित र आक्रान्त भइरहेको बताए । बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र संयुक्त राष्ट्र सङ्घको मिसन मिल्दोजुल्दो भएको बताए । ‘यो शान्तिको मुहान र पवित्र स्थलबाट हामी आग्रह गर्छौँ कि, संसारभर भइरहेका सबै युद्ध अन्त्य हुनुपर्छ,’ उनले भने, ‘युद्ध होइन, हामी शान्तिको मार्गमा लागौँ ।’ भगवान् गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनीमा उभिएर विश्वलाई शान्तिको आग्रह गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो नेपाल भ्रमण विश्वलाई प्रकृतिविरुद्धको युद्ध रोक्न आवश्यक रहेको स्पष्ट सन्देश दिनका लागि भएको बताए ।

 

जलवायु परिवर्तनमा नेपालमाथि अन्याय

 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले ३० वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । मङ्गलवार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले समस्या भोगिरहेको बताए ।

‘प्रभाव विनाशकारी छ । पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन्,’ उनले भने, ‘पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिम पहिरोको जोखिम बढ्दो छ ।’ हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी सङ्कुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने उनले बताए । ‘भविष्यमा सिन्धु, गङ्गा र ब्रहृमपुत्रजस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ,’ उनले भने, ‘यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् । लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ ।’

जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा डरलाग्दो अन्याय भइरहेको उनले बताए । ‘जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसङ्घ उनीहरूको साथमा छ । विश्वले पनि यस्तै गर्नुपछ,’ उनले भने, ‘नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायुसम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक सङ्कटको सामना गर्न धेरै ठुलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ ।’

गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झुल्नुपरेको आफ्नै आँखाले देखेको बताए । सगरमाथा आधार शिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु सङ्कट देख्न पाएको उहाँको भनाइ थियो । ‘जलवायु परिवर्तनले विश्व नै आक्रान्त बनिरहेका बेला नेपालले चालिरहेका प्रयासको म सराहना गर्छु,’ उनले भने, ‘वन विनाश हुन नदिईकन भइरहेका संरक्षण प्रयासहरूले सकारात्मक प्रभाव पार्नेछन् ।

हिमालहरूमा सूर्यको प्रकाश देख्न पाइरहनेछौँ भन्ने आशा छ ।’ यसका अलावा महासचिव गुटेरेसले नेपाल संसारलाई माया गर्छ र संसारले पनि नेपालाई माया गर्नुपर्छ भनेर संसारभर असल सन्देश दिए । उनी लुम्बिनी पुगे, पोखरा र अन्नपूर्ण बेस क्याम्प अवलोकन गरे ।

यसले नेपालको पर्यटन क्षेत्रलाई संसारभर फैलाउने छ । वा प्रचारप्रसारमा सहयोग गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्