
काठमाडौं, असोज १८
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । प्रतिनिधि सभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रूप पाउने कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
सिट बाँडफाँटका बारेमा प्रतिनिधि सभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको उहाँले बताउनुभयो । आजको शीर्ष नेतृत्वले प्रतिनिधि सभा र प्रदेश सभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको जनाइएको छ । यस सम्बन्धमा छलफल गर्न हिजो सोमवार पनि रातिसम्म पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतृत्वको बैठक बसेको थियो ।