
काठमाडौं। सम्पत्ति शुद्धीकरण, कर प्रशासन र प्रहरीका कारण व्यावसायिक वातावरण नराम्ररी प्रभावित भएको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ।
कर प्रशासनको ज्यादति, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी छानिछानी बोलाएर तर्साउने र प्रहरीले धरपकड गरेकाले व्यवसायीको मनोबल नराम्ररी प्रभावित भएको अर्थ मन्त्रालयको निष्कर्ष छ।
अर्थ सचिव कृष्णहरि पुष्करले भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र प्रहरीको ज्यादतीका कारण व्यावसायिक वातावरण खल्बलिएको भन्दै आफूमातहत निकायलाई बोलाएर छलफल गरेका हुन्।
‘अनुसन्धान गर्ने निकायले निष्पक्ष अनुसन्धान गर्नेभन्दा पनि मन परेकाले जस्तोसुकै गल्ती गरे पनि च्याप्ने र मन नपरेकालाई नियोजितरूपमै खेद्ने कार्य भइरहेको छ,’ उनले विभागीय प्रमुखहरूलाई बोलाएर भने, ‘राजस्व प्रशासनले कर छली रोक्न लाग्ने हो, अप्रत्यक्ष फाइदा बटुल्न तल्लिन हुने होइन।’
अहिले केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्रमा समस्या देखापरिरहेको छ। कर्जा माग शून्यप्रायः हुँदा पनि ब्याजदर निरन्तर बढिरहँदा अर्थतन्त्र समस्यामा परिरहेको छ। यस्तो बेलामा सबै सरकारी निकायले व्यावसायिक वातावरण बनाउन प्रयत्न गर्नुपर्नेमा झन् बिगार्ने काम भइरहेको भन्दै त्यस्तो कार्य रोक्न भनेका हुन्।