गोरखा दरबारबाट फूलपाती हनुमानढोका दशैँघरमा पठाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज ।  गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

फूलपातीको डोली बा २ झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।

कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दशैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

विधिपूर्वक दशैंघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उहाँले बताउनुभयो । गोरखा दरबारको दशैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गर्नुभएको थियो ।

त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्