राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदुत बिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १ असोज ।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।

सोमवार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदुत भोल्कबीच भेटवार्ता भएको हो ।

भेटको क्रममा द्विपक्षीय हीत, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, उहाँले अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई दिने छात्रवृत्तिको संख्या बढाउँदा धेरै विद्यार्थीहरु लाभान्वित हुन सक्नेतर्फ राजदुत भोल्कको ध्यानाकर्षण गराउनुभएको जनाइएको छ ।
अध्यक्ष तिमिल्सिनाले अष्टे«लिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदुत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराउनुभएको बताइएको छ । त्यस्तै, उहाँले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्