
काठमाडौं, असोज १४
काठमाडौं उपत्यकाको लिच्छवीकालीन पचली भैरव जात्रा शुक्रबार मनाइएको छ ।
जात्रा अन्तर्गत शुक्रबार काठमाडौंको टेकुस्थित पचली भैरवको पिठबाट पचली भैरवलाई बिभिन्न स्थान लगिएको थियो । बसन्तपुरमा जीवित देवी कुमारीलाई दर्शन गराउने चलन रहेको छ । धार्मिक मान्यता अनुसार भैरव राष्ट्रका रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने परम्परा छ ।
लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेगमा क्षेत्रपालको रुपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ ।