किन असामाजिक बन्दै छ सामाजिक सञ्जाल,  दलहरू प्रतिको वितृष्णाले कता जादैछ राजनीति

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार भयो ।

काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाट बाहिरिएर गाडी चढ्न लाग्दा उहाँमाथि एक युवाले खुकुरी प्रहार गरेका हुन् । यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति थिए नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटा । उनलाई प्रहरीले पक्राउ गरेको छ । देशको राजधानीजस्तो शहरमा एउटा राजनीज्ञमाथि दिउँसे खुकुरी प्रहार हुनु आफैमा दुखद् र आपराधिक घटना हो ।

जसै घटना अनलाइन मिडियाहरूमार्फत् घटना सार्वजनिक भयो सामाजिक सञ्जालमा अनौठा प्रतिक्रिया देखिए । अनलाइन मिडियाको एउटा सबल÷दुर्लभ पक्ष के हो भने हरेक समाचारमा पाठकले तत्काल प्रतिक्रिया जनाउन पाउँछन् । यादवमाथि खुकुरी प्रहार भएको खबरमा धेरैजसो पाठक दुखीभन्दा खुसीजस्ता देखिए । राजधानीमा दिउँसै खुकुरी प्रहार गर्ने आपराधिक घटनामा आम मान्छेको सहानुभूति देखियो । कतिपयले तल्लो स्तरमा गिरेरसमेत कमेन्ट गरेको पाइयो ।

यस्तो किन भइरहेको छ ?

 

अर्को एउटा घटना हेरौं ।

गत शनिबार काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले फेसबुकमार्फत् एउटा असंयमित अभिव्यक्ति दिए ।

बिदाको दिनमा चलेको महानगरको गाडी रोकेकामा आपत्ति जनाउँदै दिइएको अमर्यादित अभिव्यक्तिमा ‘सिंहदरबार जलाइदिने’ चेतावनीसमेत थियो । सरकारलाईसमेत ‘चोरको संज्ञा’ दिइएको उक्त अभिव्यक्ति राजनीतिक वृत्तमा निकै विवादित भयो ।

पदीय मार्यादाको ख्यालै नगरी मध्ये रातमा बालेनले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएपछि उनी उक्त स्टाटस हटाउन बाध्य भए । हाल उनले उक्त अभिव्यक्ति फेसबुकबाट हटाइसकेका छन् । तर, सामाजिक सञ्जालका प्रतिक्रिया हेर्दा अनौठो लाग्छ । बालेनको अमर्यादित अभिव्यक्तिको उनका लाखौ समर्थकले सहमति जनाए । बालेनले ठीक भनेकोसम्म भन्न भ्याए ।

फेरि पनि प्रश्न उठ्छ यस्तो किन भइरहेको छ ?

 

 

अब यी दुई घटनालाई एउटै ठाउँमा राखेर विश्लेषण गरौं ।

एउटा नेतामाथि खुकुरी प्रहार हुँदा पनि सामाजिक सञ्जाललले सहानुभूति राख्दैन । अर्को नेता (महानगर प्रमुख)ले दिनै नहुने अभिव्यक्ति दिँदासमेत समर्थन ? यसको प्रमुख कारण हो नेपाली राजनीतिप्रति आम मानिसमा रहेको वितृष्ण । राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ । वितृष्णा जागेको छ, अविश्वास बढेको छ । यसको परिणाम केही हदसम्म गत निर्वाचनमा पनि देखिएको थियो ।

सत्तामा जान र सत्ता टिकाउन जे पनि गर्न तम्सने नेपालका राजनीतिक नेतृत्वको चरित्र जो बनेको छ । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्नेहरूका कारण शासन प्रणाली नै तमासा बनेको छ ।

देशमा भ्रष्टाचार बढिरहेको छ । बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन् । अनि राजनीति तिनकै वरिपरि घुमिरहेको छ । सबै नहोलान् तर, अधिकांश राजनीतिज्ञ जनताभन्दा बिचौलिया र माफियाको फन्दामा परेका छन् । जनताको अपेक्षा र आसा एकातिर छ, दल र तिनका नेताहरू उल्टो बाटो हिँडिरहेका छन् । सत्ता सञ्चालन गर्ने दल र तिनका नेता नै भ्रष्टाचारमा चुर्लम्म डुबेका छन् । उनीहरू नै भ्रष्टाचारमा मुछिएकाहरूको बचाउमा खुलेआम उत्रिन्छन् ।
देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने दलहरूको ध्यान सत्तामा जान र राज्यको दोहन गर्नेतिर बढी छ । राजनीतिक दलहरू र तिनका नेताहरू झन् झन् खराब बन्दै गएका छन् । मुलुकलाई बनाउने र बिगार्ने भनेको प्रमुख भूमिका राजनीतिक दलकै हो । देशमा चरम आर्थिक संकट छ । मानिसहरू निरास भएर पलायन हुने बाटो खोजिरहेका छन् ।

प्रमुख दलहरूप्रति वितृष्णा बढनु भनेको खतराको संकेत हो । जनतामा वितृष्णा पैदा हुनु भनेको व्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।
यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणालीको सफलतामा नै गम्भीर संकट पर्न सक्छ । यो शासन व्यवस्था ल्याउन महत्वपूर्ण भूमिकामा रहेका दल तथा तिनका नेताहरू सच्चिनु पर्ने आवश्यकता देखिएको छ ।

मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्न दलहरू नै अघि बढनुपर्छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा, गरिबी, विपन्नता हटाउने विषयमा दलहरू गम्भिर बन्नु पर्छ । देश बनाउने कुरामा सबैको चिन्ता हुनुपर्छ । दलले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरिएको प्रतिबद्धताअनुसार काम गरेर देखाउनुपर्छ । जनताको पक्षमा काम गरेर देखाउने हो भने दलहरू आफै लोकप्रिय हुन सक्छन् ।
विकास, प्रगति र सुशासनको प्रत्याभूति जनतालाई दिने गरी काम गरेर देखाउनुपर्छ । राजनीतिक दल र सत्ता सञ्चालकले आमजनतामा अपनत्व लिन सक्ने गरी राम्रा र प्रभावकारी कार्यहरू गर्नुपर्छ ।

ठूला राजनीतिक परिवर्तनबाट स्थापित मुद्दाहरूप्रति दलहरू गम्भीर हुनुपर्छ । सरकार प्रमुख, मन्त्री वा दलका नेताहरूले कामचोर ठेकेदार, भ्रष्ट कर्मचारी वा कालोबजार गर्ने व्यापारीको संरक्षण नगरुन् । अहिले देखिएका विसङ्गति कम गर्न नसके पनि थपिन नदिए राजनीतिक नेतृत्वले गुमाएको जनविश्वास बिस्तारै फर्कन सक्छ ।
यही परिस्थितिका बीच पछिल्लो समय हामीकहाँ भ्रष्टाचारको विरोध गर्दै, नेताहरूलाई गाली गर्दै फेसबुक र युट्युबबाट स्वतन्त्र व्यक्तिका रूपमा राजनीतिमा उदाउन खोज्नेहरू बढेका छन् । प्रविधिले इन्टरनेट, सामाजिक सञ्जालदेखि श्रव्यदृश्यको सुविधासम्म दिएको छ । यसैको परिणामस्वरूप सामाजिक सञ्जाल असामाजिक बन्दै गएको छ । मानिसहरू सहानुभूति देखाउने ठाउँमा पनि खुसी मनाइरहेका छन् । दुस्ख मनाउ गर्नुपर्नेमा खुसीयाली मनाइरहेका छन् ।सामाजिक सञ्जाल अराजकतातर्फ उन्मुख भइरहेको छ । यसले राम्रो संकेत पक्कै गर्दैन ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्