दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
आजका दिन काठमाडौंको गृहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली नेपालगञ्जको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटनदेवी लगायतका मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।
बडादशैँको नौ दिन सम्म दुर्गा भवानीका नौ रुपमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।