व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेका प्रधानमन्त्री देउवाको भनाई

खबर बुक
  • ख-
  • ख+

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शनिबार सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने भएकाले सरकारले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाले अव्यवस्थित शहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह पनि गर्नुभयो । उहाले संघीय शासन प्रणाली भएसँगै यसलाई दिगो बनाउन शहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुपर्ने अबको योजना रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दीर्घकालीन विकासमा सहयोग पु¥याउने उहाँको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको विकासले देशकै पहिचान बलियो बनाएको बताउनुभयो । रुपन्देहीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल, बुद्धस्थल लुम्बिनीमा सम्पन्न हुन लागेको लुम्बिनी गुरुयोजना, बुटवलमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका पूर्वाधारहरूले देशकै गरिमा बढाएको उहाको भनाई छ ।

उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो । पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ । केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन् ।

९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्