ईरानमा २२ वर्षका महसा अमिनीको मृत्यपछि महिलाहरू अधिकारको माग गर्दै सडकमा उत्रेका छन् ।
१६ सेप्टेम्बरका दिन अमिनीको ईरानको राजधानी तेहरानस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो ।
मुस्लिम समुदायका महिलाले लगाउने हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै महसालाई १३ सेप्टेम्बरमा प्रहरीले हिरासतमा लिएको थियो ।
ईरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आउनुभएका महसामाथि प्रहरीले हिरासतमै कुटपिट गरेको, उहाँको पोस्टमार्टम रिपोर्ट पनि नदिएको तथा मृत्युको कारणबारे पनि पत्ता नलागेको परिवारको आरोप छ ।
उहाँको मृत्युपछि ईरानका ८० भन्दा बढी सहरमा प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ भने टेलिफोन पनि अवरुद्ध बनाएका छन् ।
प्रदर्शमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् ।