
गयराति पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक सञ्चालनमा आएको छ ।
राति भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने केराबारी र १८ किलोमा पहिरो जाँदा सडक दुबै तर्फ अवरुद्ध भएको थियो ।
वर्षाका कारण लेदोसहितको पहिरो खसेपछि रातभर सडकमा सवारी आवागमन ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एक्जाभेटरको सहायतमा पहिरो पन्छाउने काम सकिएपछि बिहान साढे ६ बजेदेखि भने सडक पूर्ववत रुपमा सुचारु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सडक खुलेसँगै रातभर रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।