नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी रिटको सुनुवाई भोली हुने

खबर बुक
  • ख-
  • ख+

नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी परेको रिटको सुनुवाई भोली आइतबार मात्रै हुने भएको छ ।

हिजोका लागि पेसी तोकिए पनि ती रिटहरू हेर्न नभ्याइने सूचीमा परेपछि आइतबार सुनुवाई हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लङ्घन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै रिट दर्ता भएको थियो ।

अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालय विरुद्ध रिट दर्ता गराएका थिए ।

तर हिजोको पेसीमा अन्तिममा परेका ती रिटहरू हेर्न नभ्याइने सूचीमा परेपछि अब भोली आइतबार ती रिटमाथि सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

हिजोका लागि नै सभामुख र उपसभामुख विरुद्धको रिट पनि पेसीमा चढेको भएपनि ती रिटमाथि पनि आइतबार मात्रै सुनुवाइ हुने भएको छ ।

सभामुख र उपसभामुखले पाउने सम्पूर्ण सेवा सुविधा संसदको कार्यकाल सकिए लगत्तै सकिनुपर्ने भन्दै अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई लगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्