
नेपालमा साईबर ब्युरो स्थापनाका लागि दक्षिण कोरियाले अनुदान उपलब्ध गराउने भएको छ ।
यसका लागि कोरीयाले चरणबद्ध रुपमा एक करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउनेछ ।
कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।
साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्न परियोजना महत्वपूर्ण हुने मन्त्रालयले बताएको छ ।
कोरियाबाट फर्कने आप्रवासीको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य पनि परियोजनाले राखेको छ । आज उक्त समझदारी पत्रमा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गर्नुभयो ।