रास्वपा स्थापनाको एक वर्ष : दलहरूलाई खतराको ‘घण्टी’

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वार्षिकोत्सव धुमधामसँग मनाएको छ । स्थापनको एक वर्षमै दलका रूपमा ठूलो उपलब्धी हासिल गरेको रास्वपाले नयाँ कार्यालयमा पहिलो वार्षिकोत्सव मनाएको हो । पार्टी स्थापनको एक वर्ष छोटै अवधि भए पनि रास्वपाले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको छ ।
गत आम निर्वाचनमा परिणाम अप्रत्यासित परिणाम ल्याएको रास्वपाले नेपाली राजनीतिमा वर्षौं रजगज गरेका दलहरूलाई चक्मा दिएको छ गठबन्धन गरेर चुनावमा होमिएका प्रमुख दलहरू खुम्चिँदा नवगठित रास्वपा राम्रैसँग उदाएर प्रतिनिधि सभामा चौथो ठूलो दल बन्यो ।

गत चुनावभन्दा करिब ६ महिनाअघि मात्रै गठन भएको रास्वपाले ल्याएको मत धेरैको कल्पना र अपेक्षाविपरीत थियो । स्वयं दलका सभापति रवि लामिछानेलाई पनि लागेको थिएन कि निर्वाचनमा यति धेरै मत आउँछ । जुन कुरा उनले बिहीबार पार्टी स्थापना दिवसमा आयोजिक कार्यक्रममा स्वीकारेको देखियो । ‘शुरुवात गर्दा विश्वास त थियो तर, विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने हेक्का थिएन,’ बिहीबार उनले भने, ‘समाज अब परिवर्तनका लागि तयार भएको स्पष्ट संकेत दिएको छ । हाम्रो भाषामा घन्टी बजिसकेको छ ।’

गत निर्वाचनमा अचानक उदाएको रास्वपाले वैशाखमा भएको उपनिर्वाचनमा प्रमुख दलहरूविरुद्ध साच्चिकै घण्टी नै बजायो । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपा दुई क्षेत्रमा विजयी भयो । यसले लामो राजनीतिक इतिहास बोकेका दलहरूलाई झस्काएको छ । पार्टी स्थापनाको पाँच महिनामै भएको आम निर्वाचनमा रास्वपाले परम्परागत दलहरू प्रभावविरुद्ध सनसनीपूर्ण नतिजा ल्याउन सफल भयो । सञ्चार कर्म छोडेर राजनीतिमा हामफालेका सभापति रवि लामिछानेले छोटो तयारीमै चुनावमा प्रभावशाली नतिजा सफल भए । गत ४ मंसिरको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जिताउन उनी सफल देखिए । ४ वैशाखमा भएको उपनिर्वाचनमा उनले झन् मत बढाए । उपनिर्वाचनले प्रभाव क्षेत्रमै प्रमुख दलको मत कटौती भयो ।

साथै गठबन्धन गर्दासमेत रास्वपालाई हराउन सकेनन् । अर्को चुनावमा रास्वपा प्रमुख दलहरुको चुनौती बनेर उभिने पक्का जस्तै देखिएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी हाबी भएको थियो । त्यसबाहेकका अरू निर्वाचनमा कांग्रेस–एमाले आलोपालोजस्तो हाबी हुँदै आएका थिए । आगामी चार वर्षपछि हुने निर्वाचनमा रास्वपाले देशभर दलहरूलाई चुनौती दिने भय दलहरूमा छ । रास्वपाप्रति देखिएको जनलहरले पनि त्यही संकेत गर्छ । रास्वपा जन्मिएकाएक वर्षमै शान्त विद्रोहमार्फत् ठूला भनिएका विभिन्न दलहरूमाझ चुनौतीका अनेकौ पर्खाल खडा गरिदिएको छ ।

वाहीवाहीसँगै आलोचना


पुराना दलप्रतिको वितृष्णा र आमजनताको आशा र भरोसा बोकेर उदाएको रास्वपाले एक वर्षमा प्राप्त गरेको उपलब्धी र भोगेका उतारचढाव भने कम्ती छैनन् । स्थापनाको एक वर्ष नपुग्दै प्रतिनिधि सभामा चौथो ठूलो दल बन्नु आफैंमा सबैभन्दा ठूलो उपलब्धी हो । नेपाली राजनीतिमा वर्षौं संर्घष गरेका दलहरू खुम्चिरहेका बेला गठन भएको एक वर्षमै संसद्मा बलियो उपस्थिति बनाउनु ठूलो उपलब्धी हो । अझै रास्वपाप्रतिको जनउभार बढ्दो क्रममा छ । यो पनि एक वर्षमा रास्वपाले आर्जन गरेको उपलब्धी नै हो । अधिकांश नयाँ र युवा सांसद रहेको रास्वपा संसद्मा त्यसै उदारणीय छ । रास्वपाले अरु दलजस्तै सक्रिय, क्रियाशील र संगठित सदस्यको अभ्यास नगर्ने प्रस्ट्याएको छ । भ्रातृ र पार्टीनिकट संगठनहरू पनि बनाएको छैन । यो पनि रास्वपाको उपलब्धी हो ।

एक वर्षे छोटो राजनीतिक यात्रामा रास्वपाले सफलता मात्र होइन, अपत्यारिलो बदनामी पनि भोगेको छ । स्वयं पार्टी सभापति रवि लामिछाने नागरिकता, राहदानीलगायत विवादमा मुछिनुभयो । नागरिकता विवादमा दोषी ठहर हुँदा उहाँले पद नै गुमाउनुपर्ने अवस्था आयो । पार्टी सभापतिदेखि मन्त्री पदसमेत गुमाउनुभयो । पद गुम्दा उहाँ अस्वाभाविक रुपमा आक्रेशित समेत हुनुभयो । उहाँमाथि प्रश्न उठाउने सञ्चार माध्यममाथि खनिनुभयो । जसको व्यापक आलोचना भयो । सांसद पद गम्दा पनि उहाँले मन्त्री बन्न लबिङ गरेको आरोप लाग्यो ।

निर्वाचित भएलगत्तै सरकारमा सहभागी हुँदा पनि कतिपयले आलोचना गरे । नागरिकता प्राप्त गरेपछि उहाँ पुनः निर्वाचित भएर आउनुभयो । सरकारमा जाने या बाहिरिने कुरामा देखाएको अपरिपक्क निर्णयले पनि आलोचना भयो । पार्र्टीका सांसद करोडौं रुपैयाँको मोलमोलाइमा लागेर पद नै गुमाउनु परेको घटनासमेत बाहिर आयो । यद्यपि आरोपित सांसदलाई रास्वपाले कारबाही गरेर उदारहणीय काम ग¥यो ।

संसद्मा प्रतिपक्षीको प्रभावशाली भूमिका निभाउन नसकेको आरोप पनि लाग्दै आएको छ । उठाउनैपर्ने महंगी, मूल्यवृद्धि, कुशासन, जनजीविकाका सबालमा रास्वपा पनि चुकेको आरोप लागिरहेको छ । तीन तहको सरकार स्वीकारेको रास्वपाले प्रदेश संरचनामा भने आफ्नो निश्चित दृष्टिकोण एक वर्षमा पनि दिन सकेको छैन । पार्टी गठन भएको एक वर्षसम्म पनि पार्टीको वैचारिक र सैद्धान्तिक कार्यदिशामाथिको अन्यौलता रास्वपाले चिर्न सकेको छैन ।

सभापति लामिछानेले समाज परिवर्तनको निम्ति तयार भएको बताउनुभएको छ । बिहीबार पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापानमा बोल्दै लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभयो । आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक बितेको उहाँले बताउनुभयो । ‘एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । अत्यन्त सकारात्मक र ऊर्जावान रह्यो,’ उहाँले भन्नुभयो, ‘नेपाली जनताले एउटा आशा र भरोसाका रूपमा हेरेको मैले पाएको छु ।’ लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्