भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व, आज घरघरमा पवित्र कुश भित्राइयाे

खबर बुक
  • ख-
  • ख+

भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व, शनिबार घरघरमा पवित्र कुश भित्राइएको छ ।

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने गर्छन् । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।

यस्तै बुबाको मुख हेर्ने दिन पनि शनिबार नै परेकाले छोराछोरीहरू आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् ।

बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित बागमती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।

दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औँसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र नभएर बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्