रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आंशिक सेना परिचालनको घोषणा गरेपछि देशभर प्रदर्शन भएको छ।
प्रदर्शनमा उत्रिएका सयौँ मानिसलाई प्रहरीले गिरफ्तार गरेको छ। रुसी मानवअधिकार संगठन ओभिडी–इन्फोका अनुसार गिरफ्तार हुनेको संख्या १ हजारभन्दा धेरै पुगेको छ।
मस्को र सेन्ट पिटर्सबगमा सबैभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै साइबेरियाको इरकुत्स्क र याकातेरिबर्गमा दर्जनौँ मानिस पक्राउ परेका छन्।
पुटिनले युक्रेन युद्धका लागि रिजर्ब सैनिकलाई ड्युटीमा बोलाउने र देशमा आंशिक रुपमा सैनिक परिचालन गर्ने घोषणा गर्नुभएको थियो ।
पुटिनको घोषणापछि रुसबाट बाहिर जाने जहाजहरुमा बुकिङको दर ह्वात्तै बढेको देखिएको बीबीसीले जनाएको छ।
रुसले सरकारी विरोधी प्रदर्शनमा सहभागी हुने र सहभागी हुन इन्टरनेटमार्फत् आह्वान गर्नेलाई १५ वर्षसम्मको जेल सजाय हुने चेतावनी दिएको छ।