
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदम बिरुद्ध कानूनी उपाय खोजिने बताउनुभएको छ ।
बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताउनुभएको हो ।
कानूनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उहाले बताउनुभयो । उहाले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानून उलंघन गर्ने संभावना देखिएको तर्क गर्नुभयो । अध्यक्ष नेपालले नागरिकता विधेयकका बिषयमा अध्यादेशमा जान नहुने धारणा पनि राख्नुभयो ।
त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताउनुभयो । उहाले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सवैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको धारणा राख्नुभयो ।