अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ ।
कैलालीको धनगढीमा प्रा.डा.केसीले २० औं पटक सत्याग्रह सुरु गर्नुभएको । सत्याग्रह सुरु गर्नुभएको डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रवार वार्ता टोली गठन गरेको थियो ।
हिजो वार्ताका लागि समय तोकिए पनि शिक्षा सचिव सहभागि नहुने भएपनि आजका लागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत जैसीले बताउनुभयो ।
डा.जैसीले सरकार र अनसनरत डा.केसी पक्षबीच बिहान १० बजे वार्ताका लागि समय तोकिएको पनि बताउनुभयो । वार्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवारमा बस्नेछ ।
सातौं दिनसम्मको अनसनका कारण डा.केसीको स्वास्थ्य अवस्था भने बिग्रिन थालेको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको श्रीकृष्ण मन्दिरको धर्मशालाबाट उपचारका लागि डा.केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले डा.केसीलाई औषधि प्रयोग गर्न सुझाव दिएपनि उहाँले खान नमानेको सहयोगी डा. जैसीले बताउनुभयो ।
यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर डा.केसीले गत सोमवारदेखि अनसन सुरु गर्नुभएको हो । यसैबीच अनसनरत डाक्टर केसीको जीवन रक्षाको माग राख्दै आजपनि धनगढीमा उहाँका समर्थकहरूले प्रर्दशन गर्ने तयारी गरेका छन् ।