नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै जनताका मुद्धा स्थापीत गर्न र मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताउनुभएको हो ।
२०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच बर्षे कार्यकाल हुन नसकेको उहाको भनाई छ । उहाले केपी ओलीको व्यक्तिबादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाउनुभयो । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उहाको भनाई छ । उहाले मुलुकको बिकास र सुशासनका हिसावले पनि बिगतको पाँच बर्ष खराव भएको जिकिर गर्नुभयो ।
त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानून निर्माण गर्ने कुरामा संसदका पाँच बर्षे कार्यकाल सफल भएको बताउनुभयो । उहाले पक्ष बिपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसदले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताउनुभयो ।
त्यस्तै कांग्रेस सांसद सुजाता कोईरालाले पनि संसदका पाँच बर्षे कार्यकालमा महत्वपूर्ण निर्णय भएको र केहि विवाद भएपनि संसद सफल भएको बताउनुभयो ।
कोइरालाले संसदबाट धेरै कुरा सिक्ने मौका पाएको पनि बताउनुभयो ।