प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयानका क्रममा नाम आएका व्यक्तिहरूसँग आज छलफल गर्ने भएको छ ।
हिजो बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूलाई पनि बोलाउने निर्णय गरेको हो । बैठक दिउसो १ बजे बस्ने भएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग भदौ १६ गतेदेखि बयान लिन सुरू गरेको समितिले अस्ति बयान सकाएको थियो । उहाँविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेपछि समितिले थप छलफल गर्न लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले भने महाभियोग सिफारिस समितिमा नजाने निर्णय गरेका छन् ।
समितिले हिजो कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित अन्य न्यायाधीशलाई बैठकमा उपस्थित हुन भन्दै पत्र पठाएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ‘समितिमा उपस्थित हुन नमिल्ने’ निर्णय गरेको हो ।