
पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । मनत्रालयका अनुसार थप तीनवटा मुलुकसँग दुईतर्फी हवाई सम्झौता गर्ने तयारी भएको हो ।
मन्त्रालयले अमेरिका, रुस र इन्डोनेसियासँग सीधा हवाई उडानका लागि छलफल सुरु गरेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । उहाँका अनुसार हवाई सम्झौताका लागि ३ मुलुकका प्रतिनिधि र मन्त्रालयबीच समन्वय भइरहेको छ भने इन्डोनेसियासँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
अमेरिकाका युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने गरि सम्झौता हुन लागेको प्राधिकरणले जनाएको छ । हाल नेपालमा टर्किस, कतार एयरवेज, सिंगापुर, थाइ लगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् ।
नेपालले ४० वटा मुलुकसँग दुईतर्फी सिधा उडानको सम्झौता गरिसकेको छ । कुल ४० मध्ये २० वटा गन्तव्यमा मात्र नियमित व्यवसायिक उडान हुँदै आएकोमा थप ३ गन्तव्य थपिएसँगै दुईतर्फी हवाई सम्झौता भएको मुलुकको सङ्ख्या ४३ पुग्नेछ ।