आज वीपी कोइरालाको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

खबर बुक
  • ख-
  • ख+

आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । कोइरालाको जन्मजयन्तीमा ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा रहेको कोइरालाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिनुभयो ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासन विरुद्ध २००३ सालमा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बन्नुभयो ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएको थियो ।

आफ्नो कार्यकालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्दै किसानको पक्षमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गर्नु भएको थियो । २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्किनु भएको थियो । उहाँले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक छ ।

कोइरालाले नेपाली साहित्यमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँको २०३९ साल साउन ६ गते निधन भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्