
काठमाडौं, २५ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने दाबी गर्नुभएकाे छ ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले प्रत्येक तहलाई आत्मसमीक्षा गर्दै अघि बढन आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने भन्दै कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले मुलुकको सम्वृद्धिका लागि तीनवटै तह एक आपसमा समन्वयात्मक ढङ्गले अडाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशनमा देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा रहेको छ । मंसिर २७ गते सम्म चल्ने महाधिवेनले आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन गर्नुकासाथै काठमाडौं घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ ।