प्रचण्ड मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने बताउनुभएको छ ।

शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताउनुभएको हो । उहाँले माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले स्थानीय तहका १२२ पालिका माओवादीको कन्ट्रोलमा रहेको भन्दै प्रदेशमा ७४ को हाराहारीमै रहेको बताउनुभयो । उहाँले संघीय संसदमा भने आफ्नो पार्टीले सोचेजस्तो र अपेक्षा गरेजस्तो सीट नजितेपनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने दावी गर्नुभयो । उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुको भमिका केन्द्रीय रहेको र त्यसलाई कसैले खोस्न नसक्ने समेत जिकिर गर्नुभयो । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उहाँले आत्मसमीक्षा गरेर मिहिनेत गरे पुन संगठित हुन सक्ने बताउनुभयो ।

माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समय सापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । त्यस्तै उहाँले माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएमा जनतालाई सुशासनको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएको भन्दै चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको टिप्पणी गर्नुभयो । विकासको क्रान्ति नै ल्याएको ठाउँमा पनि माओवादीका उम्मेदवारलाई चुनाव जित्न हम्मे–हम्मे परेको भन्दै विकास र एजेन्डा लिएर जाँदैमा चुनाव नजितिने उहाँको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्