नेपालको शैक्षिक विकासमा त्रिविको महत्वपूर्ण योगदान छ : प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।  शुक्रबार पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले नेपालमा उच्च शिक्षा प्रवर्द्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको त्रिवि विश्वविद्यालयले पु¥याएको योगदान सबैका सामु जगजाहेर रहेको भन्दै मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै भएको दाबी गर्नुभयो । उहाँले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । त्यस्तै प्रधानमन्त्री देउवाले सरकारले शिक्षा क्षेत्रको विकासको लागि उचित स्रोत र साधनको व्यवस्था गर्दै आइरहेपनि सरकारको लगानीको तुलनामा शिक्षा क्षेत्रबाट प्रतिफल अपेक्षाअनुसार आउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले विश्वविद्यालयको शिक्षा औपचारिकमात्रै नभएर व्यवहारिक हुनुपर्ने भन्दै शिक्षा क्षेत्रमा गरेको लगानीलाई बढी उपलब्धिमूलक र प्रतिफलमुखी बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षालाई सीपसँग र सीपलाई रोजगार बजारसँग जोड्नु आजको चुनौती रहेको भन्दै उत्पादन र रोजगारसँग जोड्ने शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले आजको प्रतिस्पर्धाको युगमा नेपाली मौलिक परम्परा र ज्ञान सीपलाई विश्वसामु विकसित भएका ज्ञान सीपसँग मेल गराउँदै नेपालको शैक्षिक र प्राज्ञिक पहिचानलाई विश्वसामु परिचित र स्थापित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको जेठो र ठूलो त्रिविले नेपालको उच्च शिक्षाको विकासमा प्रशंसनीय भूमिका खेलेको उल्लेख गर्दै विश्वबजारमा प्रतिस्पर्धी बनाउन समय सापेक्षा यसको सुधार गर्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा २०७८ असार १ देखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ६२ हजार २ सय ३७ विद्यार्थी दीक्षित भएका छन् । तर दीक्षान्त समारोहमा सहभागीताका लागि करिब १० हजार २ सय ३७ विद्यार्थीले फारम भरेको रीक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । समारोहमा एमफिल, विद्यावारीधि र सर्वोत्कृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्