रुस–युक्रेन आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

मस्को । रुस र युक्रेनबिच जारी युद्धमा आक्रमण तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा दुवै देशले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्दा दुबैतर्फ गरी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसक्दा पनि हिंसा कम हुने कुनै सङ्केत देखिएको छैन । रुसी सरकारी समाचार संस्था तासका अनुसार मंगलबार बिहान मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

मस्को क्षेत्रका गभर्नरले आक्रमणका कारण स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको बताएका छन् । यसैबिच, रुसको दक्षिणी क्रास्नोडार क्षेत्रमा पनि ठुलो क्षति भएको छ । क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्राटेभका अनुसार ड्रोनको भग्नावशेष पर्यटकीय गाउँ आर्खिपो–ओसिपोभ्कामा खस्दा तीन बालबालिकासहित सात जनाको ज्यान गएको छ । घटनामा करिब ४० जना घाइते भएका छन् । आक्रमणपछि स्थानीय क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन् । रुसद्वारा कब्जा गरिएको क्रिमिया क्षेत्रमा पनि आक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ भने दुई जना घाइते भएका छन् ।

त्यस्तै, युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको गोलाबारीमा चार सर्वसाधारणको मृत्यु भएको र १७ जना घाइते भएको कार्यवाहक गभर्नर अलेक्जेन्डर शुभायेभले जानकारी दिएका छन् । उता, युक्रेनले पनि रुसको लगातारको आक्रमणका कारण ठुलो मानवीय क्षति बेहोरेको जनाएको छ । युक्रेनको ड्निप्रोपेत्रोभ्स्क क्षेत्रअन्तर्गतको क्रिभी रिह जिल्लामा रहेको एक पेट्रोल पम्पमा रुसले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक आपत्कालीन उद्धारकर्मी र उनका आठ वर्षीय छोरा पनि छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्दर हान्झाका अनुसार आक्रमणपछि पेट्रोल पम्पमा भीषण आगलागी भएको थियो । आगोका कारण पेट्रोल पम्पसँगै आसपासमा पार्क गरिएका सवारीसाधनहरूमा समेत क्षति पुगेको छ ।

युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा तीन जना बालबालिकासहित २१ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यस्तै, जापोरिझ्झिया क्षेत्रमा रातभरि भएको रुसी आक्रमणमा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । आक्रमणपछि उद्धार टोलीले भग्नावशेष हटाउने र प्रभावित नागरिकको खोजी गर्ने कार्य जारी राखेको छ । युद्धका क्रममा पछिल्ला केही महिनामा सर्वसाधारणको मृत्यु संख्या उल्लेखनीय रूपमा बढ्दै गएको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले देखाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्