सत्ताका लागि ३ दल मिल्दैनौँ, प्रदेशमा पनि प्रतिपक्षमा बस्न तयार छौँ : विश्वप्रकाश शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना आफूहरुले नगरेको उल्लेख गर्दै सत्ताका लागि तीन दल मिलेर जाने अवस्था नरहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको तर प्रमुख प्रतिपक्षीविहीन प्रदेशसभाको परिकल्पना समेत गर्न नसक्ने बताए ।

प्रदेश सरकारमा देखिएका समस्या समाधानका लागि संवादहरू जारी रहेको उल्लेख गर्दै उनले भने, ‘आन्तरिक रूपमा संवाद भइरहेका छन् । हाम्रो बटमलाइन भनेको कुनै पनि प्रदेशसभा प्रतिपक्ष विहीन बन्नु हुँदैन भन्ने हो ।’

शर्माले कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्न नहुने धारणा व्यक्त गर्दै संविधानको मूल मर्मलाई जोगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन । वर्तमान संविधान निर्माण गर्दैगर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न मिल्दैन । प्रदेशगत सरकारहरूको सन्दर्भमा उब्जिएका प्रश्नहरूको समस्याको एउटा चुरो त्यहीँसँग सम्बन्धित छ । आवश्यक परेको खण्डमा कांग्रेस प्रतिपक्षमा बस्न पनि तत्पर हुन्छ । तर नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता राख्दैन ।’

यसैबीच उनले साउन ६ गते मनाइने जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

उनले भने, ‘साउन ६ गते बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो । यो दिवसका अवसरमा देशभर नै विशेषगरी साउन ६ र ७ गते विविध कार्यक्रमहरू हुँदैछन् । त्यसक्रममा काठमाडौंमा केन्द्रीय रूपमा ‘जलवायु जनचेतना जोगाउन जुटौँ’ भन्ने मुख्य उद्देश्यका साथ साउन ६ गते कार्यक्रम आयोजना हुँदैछ । साउन ७ गते पनि त्यससँग सम्बन्धित कार्यक्रम हुनेछ ।’

शर्माले बीपी कोइरालाको स्मृति दिवसलाई जलवायु जनचेतनासँग जोड्नुको पृष्ठभूमि पनि स्पष्ट पारे । उनले बीपी कोइराला प्रधानमन्त्री रहँदा जंगलको राष्ट्रियकरण गर्ने निर्णय भएकोले वन संरक्षण सम्भव भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्