काठमाडौं : नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको बिकल्प नखोजिएको स्पष्ट पारेको छ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले अहिले सरकारको विकल्प नखोजिएको र एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताउनुभएको हो ।
बैठकले निर्वाचनमा अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल र परिणाममुखी भएको निष्कर्ष निकालिएको उहाले बताउनुभयो ।
निर्वाचनमा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्नेमा बैठकको जोड गरेको गुरुङको भनाइ छ । उहाले सोमबार गठबन्धनको बैठक बोलाइएको र निर्वाचन तथा सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिनुभयो ।
यसअघि शनिबार बसेको पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराले गठबन्धनलाई तोड्ने कुनै निर्णय नभएको भन्दै सरकार गठनको सवै बिकल्प खुल्ला राख्ने बताउनुभएको थियो ।