काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तराष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइएको हो । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नगरिक मन्त्रालयले काठमाडौंको भृकुटिमण्डपदेखि भद्रकाली सुन्धारा, रत्नपार्क हुँदै भृकुटिमण्डपसम्म र्यालीको आयोजना गरेको थियो । र्यालीपछि आयोजित कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अहिले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्ठिकोण फरक हुँदै गएको बताउनुभयो । उहाले देशको स्रोत साधन हेर्दा सवै भन्दा महत्व दिनुपर्ने र राज्यको आखा पुग्नुपर्ने ठाँउ भनेको अपाङ्गता भएका व्यक्तिहरुमाथि नै रहेको धारणा राख्नुभयो ।
नेपाल जनसङ्ख्यिय तथा स्वास्थ्य सर्वेक्षणले अपाङ्गता भएका व्यक्तिको छ प्रतिशत जनसङ्ख्याको क्रियात्मक क्षमतामा अति र तीव्र किसिमको कमी रहेको देखाएको छ । तेईस प्रतिशतमा मध्यम किसिमको कमी देखिएको छ । यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनःस्थापना सेवामा पहुँच नभएको, ६४ दशमलव आठ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव दुई प्रतिशत अन्य स्वास्थ्य सेवामा पहुँच नपुगेको उल्लेख गरिएको छ । नेपालमा ५४ हजार छ सय ३८ जनाले पुनःस्थापना पाइसकेका र दुई हजार एक सय ६३ जनाले अपाङ्गता परिचयपत्रसमेत पाइसकेका जनाइएको छ । व्यक्तिमा १० प्रकारका अपाङ्गता हुने गर्दछन् ।