कमजोर बन्दै अमेरिकी डलर, बाह्य क्षेत्रको दबाब झेलिरहेको नेपाललाई राहत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ मंसिर एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको नेपाली खरिद मूल्य  १२९.६५ रुपैयाँ पुगेको छ भने बिक्री दर १३०.२५ रुपैयाँ कायम छ । गत बुधबार खरिद दर १२९.९८ रुपैयाँ र बिक्री दर १३०.५८ रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पवेलले ब्याजदरमा वृद्धिदरको गति घटाउने संकेत गरेपछि डलर कमजोर हुँदै गइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विदेशी पुँजी प्रवाह बढ्ने र घरेलु सेयर बजारमा वृद्धि भएपछि डलरको भाउ कमजोर भएको छ । फेडले ब्याजदरलाई डिसेम्बरभित्रै कम गर्ने अनुमान समेत गरिएको छ । यस्तो छ डलर र नेरुको एक साताको ट्रेन्ड शुक्रबार – खरिद दर : १२९.६५, बिक्री दर : १३०.२५ बिहीबार – खरिद दर : १२९.९८ बिक्री दर : १३०.५८ बुधबार – खरिद दर : १३०.४६ बिक्री दर : १३१.०६ मंगलबार – खरिद दर : १३०.३८ बिक्री दर : १३०.९८ सोमबार – खरिद दर : १३०.४० बिक्री दर : १३१ आइतबार – खरिद दर : १३०.४० बिक्री दर : १३१ बाह्य क्षेत्रमा राहत नेपालको अर्थतन्त्रमा पछिल्लो डेढ वर्षदेखि बाह्य क्षेत्रमा परेको चापलाई राहत पुग्ने देखिन्छ । विश्व बजारमा रुस/युक्रेन युद्धका कारण आपूर्ति प्रणाली खलबलिएसँगै महँगी चुलिएपछि आयातमुखी अर्थतन्त्र भएका नेपाल जस्ता देशलाई विदेशी मुद्राको संकट परिरहेको छ । शोधनान्तर घाटामा पुगेपछि बैंकिङ प्रणालीमा तरलता असहजता बढ्दै गएर ब्याजदर वृद्धि तिव्र भएको छ । यसले उत्पादन र लगानीको क्षेत्रमा मन्दीको अवस्था निम्त्याएको छ । डलर कमजोर बन्दा नेपालले आयात गरेबापत बाहिर पठाउने मुद्रा सस्तो पर्न जान्छ । जसले आयातमार्फत शोधनान्तरमा परेको चापलाई समेत कम गर्ने देखिन्छ । डलर सस्तो हुनु भनेको एक किसिमले महँगी दरमा समेत कमी आउनु हो । त्यस्तै डलर सस्तो हुँदा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीले तिर्ने शुल्क पनि घट्ने छ। त्यस्तै नेपालले वैदेशिक विकास साझेदारहरूसँग लिएको ऋणको साँवाब्याजको दायित्व समेत कम पर्ने हुन्छ ।  डलरको भाउ घटेसँगै भुक्तानीमा पनि सहजता आउने भएकाले बाह्य क्षेत्रमा चाप घट्ने अर्थशास्त्रीहरूको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्