काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्बिचार गर्न सरकारसंग आग्रह गरेका छन ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्बिचार गर्न आग्रह गरेका हुन ।
सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिदै अतिआवश्यक सुविधामा पुनर्बिचार गर्नुपर्ने उनले बताए ।
अध्यक्ष दाहालले सरकारको कामकारवाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए । उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउदा उपस्थीत हुने वातावरण बनाउन समेत निर्देश गरे ।
उनले राष्ट्रियसभाको दुई बर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए ।













