भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरू, घिसिङ र प्रचण्डद्धारा शिलान्यास

खबर बुक
  • ख-
  • ख+

नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज निर्माण कार्यको शिलान्यास गर्नुभएकाे हाे ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गरिने छ । साथै, २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरुको क्षमता बढाउने तथा नयाँ थपिने छ ।

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गरिएको हो ।

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय संरचना भूमिगत गर्ने कार्यले स्मार्ट र सुन्दर भरतपुर स्थापनाको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने बताउनुभयाे । तार भूमिगत गर्ने कार्य जनताको सुरक्षा र सहरी क्षेत्रको सौन्दर्यसँग जोडिएकोले यसलाई सफल बनाउन सबै लाग्नु पर्नेमा उहाले जोड दिनुभयाे ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर  स्मार्ट सिटीकारुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयाे ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताउनुभयाे ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसंचार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने उहाले उल्लेख गर्नुभयाे।

प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्