
काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्ने कुरा अनर्गल प्रचार मात्रै भएको बताएका छन्।
नेपाली कांग्रेसको पाल्पा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारमा भए पनि पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको जानकारी नभएको बताए। उनले पहिलेका कुरा अहिले प्रचारमा ल्याएर सत्तारुढ गठबन्धनलाई अप्ठ्यारोमा पार्न खोजिएको दाबी गरे।
‘राष्ट्रपति बनिसकेका, प्रधानमन्त्री बनिसकेका पूर्वहरूलाई राज्यले आजीवन सुविधा दिन लागेको छ भनेर आइराखेको छ। अहिले हामी पनि सरकारमा छौँ। तर हामीलाई केही थाहा छैन,’ उनले भने, ‘कुन सरकारले के आवश्यक परेर यसमा वर्कआउट गरेको होला? अहिले ल्याएर राखिदिएपछि दलहरूलाई अप्ठ्यारोमा पार्ने हुन्छ। अनर्गल प्रचारको सिकार बन्नुभन्दा यसमा हामीले सोच्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाछ।’
भ्रमपूर्ण र अनर्गल प्रचारको पछि नलाग्न उनले सबैलाई आग्रह गरे।