फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब बढी राजस्व संकलन

खबर बुक
  • ख-
  • ख+

२ चैत, काठमाडौँ ।फागुनमा घरजग्गा कारोबार स्थिर रहे पनि राजस्व संकलन भने केही बढेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। 

विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को फागुनमा देशभर ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको छ। माघमा ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको थियो।

घरजग्गा कारोबार नबढे पनि माघको तुलनामा फागुनमा राजस्व ६.३९ प्रतिशतले वृद्धि भएको विभागको सूचनामा उल्लेख छ।

माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड राजस्व संकलन भएकामा फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

गत वर्ष फागुनमा देशभर ५० हजार ९९८ संख्यामा घरजग्गा कारोबार भएको थियो, जुन यो वर्ष फागुनमा भएको कारोबार ९.६८ प्रतिशतले कम हो।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुने गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्