डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूको भनाइ

खबर बुक
  • ख-
  • ख+

डेङ्गीको सङ्क्रमणबाट बच्न हरेक व्यक्ति सचेत हुनुपर्ने विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन यता नेपालमा डेङ्गीका तीन हजार दुई सय २७ बिरामी छन् । जसमा सबैभन्दा बढी सङ्क्रमित ललितपुरमा छन् ।

स्वास्थ्य कार्यालय ललितपुरले सङ्क्रमण रोक्नका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ तर विज्ञहरू हरेक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

दुई महिनाको अवधिमा ललितपुर उपमहानगरमा मात्रै १३ सयभन्दा धेरै व्यक्तिमा डेङ्गी पुष्टि भइसकेको छ । लगनखेलस्थित पाटन अस्पतालमा साउन यता मात्रै सात सयभन्दा धेरै डेङ्गीका बिरामी उपचारका लागि पुगेका छन् ।

ललितपुरमा सबैभन्दा धेरै डेङ्गीको सङ्क्रमण फैलिएपछि महानगरले पनि विश्लेषण गरिरहेको महानगरपालिकाका डेङ्गी फोकल पर्सन डिल्लिशेर केसीले बताउनुभयो ।

ललितपुर महानगरपालिकाले २९ वटा वडामा ६ सय ४३ स्वास्थ्यकर्मी डेङ्गी नियन्त्रणका लागि परिचालन गरेको छ भने खोज र नष्ट गर अभियान चलाइरहेको छ । तर पनि बिरामीहरू अस्पताल पुग्नेक्रम रोकिएको छैन ।

टेकु अस्पतालमा डेङ्गीसँग मिल्दोजुल्दो लक्षण लिएर एक सातायता दैनिक दुई सय बिरामी पुग्ने गरेका छन् । स्थानीय सरकारसँगै नागरिकको सावधानीले नै यसबाट बच्न सकिने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताउनुभयो ।

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण डेङ्गीका बिरामीमा देखिन्छ । पानी जम्ने जुनसुकै स्थानमा पनि डेङ्गी सार्ने एडिस प्रजातिको लामखुट्टे सजिलै हुर्कन सक्ने भएकाले त्यस्ता खाल्डाखुल्डी पुर्नुपर्छ ।

बिरामीको नाक, गिजा, दिसा लगायतमा रगत देखिएमा भने तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्