
सिद्धार्थ राजमार्गको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन फेरि ठप्प भएको छ ।
निरन्तरको वर्षाका कारण पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो ।
तर डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरू अलपत्र परेका छन् ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलो भएकाले ग्राभेल नगर्दासम्म गाडी चल्ने अवस्था नरहेको बताउनुभयो ।
अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै गाडी चल्न दिने गरी काम गरिने उहाँको भनाइ छ ।