
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपतका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताएका हुन् । सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ ।
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलिदो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गरे ।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए ।
प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे । ओलीले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले देशलाई आधुनिकिकरण र विकासको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।