
काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
बिहीबार कास्कीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरु काम गरिरहेको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराउनुभयो । प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानबाट एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा डा डुकबहादुर क्षेत्रीले सेवा विस्तारका क्रममा प्रतिष्ठान अन्तगएतको अस्पताललाई ५० श्यैयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।