आईजीपी नियुक्तिदेखि इनम सापकोटा अडियो प्रकरणसम्मका विषयमा धारणा बनाउन कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक बस्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको विषयसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्।

त्यस्तै, हालै सार्वजनिक इनम सापकोटाको अडियोमा कांग्रेस सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंगसमेत चर्चामा छ। कांग्रेसले उक्त प्रकरणलाई सरकारको षड्यन्त्र भन्दै निराधार, कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकतामाथि प्रश्न उठाउन खोजिएको आरोप लगाउँदै आएको छ।

सरकारले प्रतिपक्षको आवाज दबाउन खोजेको भन्दै कांग्रेसले न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने बताएको छ।

पत्रकारमाथिको धरपकडलगायत सरकारका पछिल्ला विवादित गतिविधिबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत कांग्रेसले राख्दै आएको छ। साथै, प्रतिनिधिसभाको बैठक चाँडोभन्दा चाँडो बोलाउन पनि पार्टीले माग गरेको छ।

कांग्रेस महामन्त्री डा. डिला संग्रौलाले आजको बैठक औपचारिक नभई समसामयिक विषयमा अनौपचारिक छलफलका लागि बस्न लागेको बताएकी छन्।

त्यस्तै, सहमहामन्त्री मनोजमणि आचार्यका अनुसार पार्टी संगठनका समसामयिक विषयमा पनि छलफल हुनेछ। जिल्ला तथा प्रदेश तहका अधिवेशन हुन बाँकी रहेकाले ती विषयमा महामन्त्री र सहमहामन्त्रीबीच छलफल हुने उनले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्