भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री बालेनसँग भेट्दै, मंसिर दोस्रो साता हुने भारत भ्रमणको तयारी तीव्र

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। भेटघाट सम्पन्न गरी उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका सिलसिलामा मिश्री हिजो बिहान काठमाडौं आएका थिए। काठमाडौं आइपुगेदेखि नै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका छन्।

उनले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

आज प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटका लागि समय नमिलाउँदा निर्धारित भ्रमण नै स्थगित गरेका मिश्रीको यसपटकको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग हुने भेटलाई विशेष चासोका साथ हेरिएको छ।

नेपाल र भारत दुवै देशका अधिकारीहरूले प्रधानमन्त्री बालेनको मंसिर दोस्रो सातामा हुने भारत भ्रमणको तयारी गरिरहेको स्रोतले जनाएको छ। यसै तयारीका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका थिए।

यसअघि कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा छन्। भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणपछि भारत भ्रमणको मिति सार्वजनिक हुन सक्ने स्रोतको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्