काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।









