काठमाडौं, ८ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकमबारे जानकारी दिएको हो।
प्रतियोगिता सोमबार (कार्तिक ९ अर्थात अक्टोबर २६) देखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता नोभेम्बर २१ सम्म चल्नेछ। प्रतियोगितामा यसअघिका दुवै संस्करण खेलेका आठवटै टिमको सहभागिता रहनेछ।
यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागू गरिनेछ। आईसीसीको मान्यता अनुरूप यस प्रतियोगितामा खेलाडीहरूले बनाएको रन ‘लिस्ट ए’ क्रिकेटमा समावेश हुनेछ।









