काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा ७५३ मध्ये कम्तीमा १०० स्थानीय तहको प्रमुख वा अध्यक्ष पदमा महिलालाई उम्मेदवार बनाउने संकल्प गरेका छन्।
सोमबार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो संकल्प गरेको बताएका हुन्। यसका लागि पार्टी केन्द्रीय कार्यालयमा इलेक्सन ब्यूरो बनाउने र उक्त ब्यूरोले उम्मेदवार चयन गर्ने उनको भनाइ छ।
थापाले महाधिवेशन सकिएलगत्तै ‘लिडरसिप एकेडेमी’ सुरु गर्ने पनि बताएका छन्। आगामी निर्वाचनमा लिडरसिप एकेडेमीको कोर्स पूरा गरेका व्यक्ति मात्रै उम्मेदवार बन्न पाउने उनले बताए।
सभापति थापाले कांग्रेस कार्यालयलाई टिकट बाँडफाँड गर्ने कार्यालयका रूपमा नभई ज्ञान निर्माण गर्ने थलो बनाउने बताएका छन्। पार्टी कार्यालय नागरिकका विषयमा छलफल गर्ने केन्द्र बन्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘कांग्रेसको कार्यालय अब टिकट बाँड्ने, टिकट लिने कार्यालय हैन। कांग्रेसका कार्यालयहरू अब ज्ञान निर्माण गर्ने थलो हुनुपर्छ। नागरिकका विषयहरूमाथि छलफल गर्ने केन्द्र बन्नुपर्छ भन्ने प्रस्ताव मैले यहाँ गरेको छु। अब पार्टीको संरचना पनि परिवर्तन हुन्छ।’
उनले पार्टी केन्द्रीय कार्यालयमा इलेक्सन ब्यूरो रहने र त्यसले उम्मेदवार चयन तथा निर्वाचनसम्बन्धी काम गर्ने बताए।
‘केन्द्रीय कार्यालय रहन्छ। त्यहाँ एउटा संरचना रहन्छ, इलेक्सन ब्यूरो। त्यसले के गर्छ, जस्तो मैले योचोटि एउटा संकल्प गरेको छु कि ७५३ पालिकामध्ये कम्तीमा पनि सय वटा पालिकामा मेयर वा अध्यक्ष महिलालाई बनाउनुपर्छ। त्यो पूरा गर्नको लागि इलेक्सन ब्यूरोले काम गर्छ,’ उनले भने।
सभापति थापाले पार्टी संरचना तथा आगामी चार वर्षको कार्यनीतिसहितको राजनीतिक प्रतिवेदन पनि महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका छन्।









