काठमाडौँ। हेटौँडा–कुलेखानी सडकमा यात्रा गर्ने क्रममा एक जना मोटरसाइकल चालकसँग सांसदले विवाद गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश गौतमले मोटरसाइकलमा सवार यात्रुसँग विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । मकवानपुर–१ का सांसद गौतमले मकवानपुरको भिमफेदी बजारभन्दा माथि जुरिखेतमा विवाद गरेका हुन् ।
मङ्गलबार गौतम भिमफेदी–कुलेखानी सडक मार्ग हुँदै काठमाडौँ तर्फ आउँदै थिए । जुरीखेतमा मनहरी गाउँपालिका–७ घर भएका सुसन भ्लोनसँग ओभरटेक गर्ने विषयमा उनले विवाद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । सांसदले सडकमा गाडी तेर्स्याएपछि ट्राफिक प्रहरीले घटनास्थलमा पुगेर सहजीकरण गर्नुपरेको थियो ।
कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग बन्द हुँदा साना सवारी साधन हेटौँडा–कुलेखानी–फर्पिङ हुँदै बल्खुतर्फ चल्ने गरेका छन् । सवारी चापका कारण जाम हुने गरेको छ ।
दुवै पक्ष मिलेर गएको हुनाले ट्राफिक कारबाही नगरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।









