शव व्यवस्थापनको जिम्मेवारी दिएर सचिवलाई रसुवा पठाएकोमा विश्वप्रकाश शर्माको आपत्ति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । सरकारले कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनको जिम्मेवारी दिएर रसुवा पठाएकोप्रति कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्। मानवीय विपत्तिको घडीमा सरकारले आवेगमा निर्णय लिएको उनको टिप्पणी छ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलालाई संघीय सरकारकी सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सोमबार रसुवामा काज सरुवा गरेकी थिइन्।

रसुवामा बाढीका कारण मृत्यु भएकाहरूको शव जमिनमुनि व्यवस्थापन गर्ने कार्यको आलोचना गर्दै सचिव निरौलाले फेसबुकमा स्टाटस लेखेका थिए। उनले आफू शव व्यवस्थापनमा अनुभवी रहेको भन्दै केही सुझावसमेत दिएका थिए। त्यसलगत्तै उनलाई शव व्यवस्थापनकै लागि रसुवा खटाइएको हो।

कांग्रेस महामन्त्री शर्माले भने सचिव निरौलालाई उनको विज्ञता वा अनुभवका आधारमा नभई फेसबुकमा लेखेको स्टाटसकै कारण सरुवा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

एक भिडियोमार्फत धारणा सार्वजनिक गर्दै शर्माले विपद्को समयमा सरकारले सम्बन्धित विषयको ज्ञान, क्षमता र अनुभव भएका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताए।

‘सरकारले कोशी प्रदेशको एकजना सचिवज्यूलाई शव व्यवस्थापन गर्नका लागि रसुवा खटाएको छ। ती सचिवज्यूको योग्यता, क्षमता, विज्ञता र अनुभव शव व्यवस्थापनसम्बन्धी हो कि भनेर बुझेको, सरकारले खटाएको कारण अर्कै रहेछ,’ उनले भने।

निरौलाले शव व्यवस्थापन गर्दा परिवारको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने विषयमा लेखेको उल्लेख गर्दै शर्माले कर्मचारीले त्यस्तो धारणा राख्नु सही वा गलत भन्ने विषयमा आफू जान नचाहेको बताए।

उनले विपद्का कारण आफ्ना आफन्त सुरुङभित्र वा नदीमा हराइरहेका परिवारले उद्धार तथा शव व्यवस्थापनमा सरकारमाथि भरोसा गरिरहेको भन्दै जिम्मेवारी दिँदा सम्बन्धित विषयको ज्ञान र अनुभव भएका व्यक्तिलाई खटाउनुपर्नेमा जोड दिए।

‘मान्छे खटाउँदै गर्दा कसलाई खटाउने ? सम्बन्धित विषयको ज्ञान राख्नेलाई खटाउने कि मन्त्रीज्यूलाई मन लाग्यो, प्रधानमन्त्रीज्यूलाई मन लाग्यो, गृहमन्त्रीज्यूलाई मन लाग्यो, आवेगमा अह्राइदिउँ, खटाइदिउँ, आदेश दिऊँ, डाँडा कटाइदिऊँ भनेर हुन्छ ?’ शर्माले प्रश्न गरे।

सरकारको यस्तो निर्णय गलत भएको टिप्पणी गर्दै शर्माले मानवीय विपत्तिको समयमा प्रतिपक्षमा रहेकाहरूले सरकारलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए। तर सरकारले यस किसिमको व्यवहार नगर्न उनले आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्