पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा बढ्यो सवारी चाप

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ।

काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो तथा वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग अहिले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको मुख्य विकल्प बनेको छ।

कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भएपछि साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गतर्फ मोडिएका छन्। हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने यस मार्गमा सवारी साधनको लामो लस्कर देखिएको छ।

सडक योजनाले सार्वजनिक गरेको दृश्यमा सवारी साधनहरू निरन्तर सञ्चालनमा रहे पनि अत्यधिक चापका कारण यात्रामा केही समय लाग्ने देखिएको छ।

धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग नै कटान गरेपछि तथा माथिबाट पहिरो खसेपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात सेवा ठप्प भएको हो। सडक खण्ड मर्मत गरी सञ्चालनमा ल्याउन प्राविधिक टोली खटिए पनि तत्कालै सडक सञ्चालनमा आउने सम्भावना कम रहेको बताइएको छ।

यसैबीच, सडक विभागले कान्ति राजमार्गसहित अन्य तीन वटा मार्गलाई पनि वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सुझाव दिएको छ।

त्रिभुवन राजपथ (वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी), बीपी राजमार्ग (बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ) र हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग (हेटौँडाबाट कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ) लाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ।

कान्ति राजमार्गलगायत वैकल्पिक सडकमा सवारी चाप बढेकाले संयमित भएर सवारी चलाउन सडक विभागले चालकहरूलाई आग्रह गरेको छ। वर्षायाममा ग्रामीण भेगका सडकमा पहिरोको जोखिमसमेत हुने भएकाले ‘सडक सूचना’ तथा ट्राफिक प्रहरीको अपडेट लिएर मात्र यात्रा तय गर्न विभागले अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्